३ माघ २०७८, सोमबार

एचआईडीसीएलले नेपाल राष्ट्र बैंकको नियमनमा आउने गरी आफ्नो रणनीतिक योजना बनाउदै

काठमाडौं- जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने गरी स्थापना भएको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले नेपाल राष्ट्र बैंकको नियमनमा आउने गरी आफ्नो रणनीतिक योजना अघि सारेको छ ।

समग्र जलविद्युत् आयोजनाको नेतृत्व गर्ने गरी स्थापित यस कम्पनीलाई राष्ट्र बैंकको नियमनमा लान खोजिएको कम्पनीले जनाएको छ । यो कम्पनी बैंककै मोडलमा जान लागेको हो । यसको प्रस्ताव सञ्चालक समितिको बोर्ड बैठकमा लाने तयारी गरिएको छ ।

जलविद्युत् क्षेत्रमा लगानी जुटाउनेदेखिका सबै प्रक्रिया कुनै न कुनै रुपमा राष्ट्र बैंकसँगै जोडिएकोले उसकै नियमनभित्र अटाउन चाहेको कम्पनीका सीईओ अर्जुन कुमार गौतमले बताए ।

यस कम्पनीले अब रणनीतिक विकास नगरी नहुने भएकोले केही योजनाहरु अघि सारिएको सीईओ गौतमले बताए । उनले भने, ‘यस कम्पनीको प्रकृतिअनुसार विभिन्न वित्तीय गतिविधि गर्दा अहिले पनि राष्ट्र बैंककै नियमनमा बसेकोले कुनै न कुनै हिसाबमा राष्ट्र बैंकको पूर्ण नियमनमा जानैपर्ने आवश्यकता छ ।’

आम नेपाली नागरिकले साधारण शेयरसमेत लगानी गरेको, नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाको लगानी रहेको कम्पनी वि.सं. २०६८ सालमा स्थापना भएको हो । ने

पालमा जलविद्युत् विकासको सम्भावना प्रशस्त हुँदाहुँदै जलविद्युत् क्षेत्रको विकासको लागि चाहिने आवश्यक पुँजीको अभावलाई ध्यानमा राखी निजी क्षेत्र, अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूसँग सहकार्य वा सहलगानी, वैदेशिक बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत ऋण वा अनुदान लिई विद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले यो कम्पनी स्थापना भएको थियो ।

अहिले एचआईडीसीएलले पनि यो प्रकृतिको विकास बैंकको रुपमा जाने मनसाय देखाएको छ । ‘हामीले राष्ट्र बैंकको नियमनमा जानेबारे छलफल पनि गरिरहेका छौँ’, उनले भने, ‘तर त्यसको ठ्याक्कै पिक्चरचाहिँ कस्तो हुने हो, त्यसबारे स्पष्ट भइसकेको छैन ।’ ‘

बन्ड, सर्टिफिकेट अफ डिपोजिट जारी गर्ने, सफ्ट लोनहरु लिने, विदेशी लगानीकर्ताहरुबाट पैसा ल्याउने, रिसोर्स मोबिलाइजेसनअन्तर्गतका यी सबै काम भनेको राष्ट्र बैंकको नियमनसँग जोडिएको नै छ’, उनले भने, ‘त्यसपछि लगानी गर्ने काम पनि राष्ट्र बैंकभित्रकै कुरा भएकाले हामी कुनै न कुनै रुपमा राष्ट्र बैंकको नियमनमा आउनु नै पर्छ ।’ दुई/तीन महिनामा यसको टुंगो लगाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यस्तो छ, कम्पनीको योजना

कम्पनीले आगामी वर्षभित्र ३ हजार ३ सय ३९ मेगावाट क्षमताका विभिन्न २३ वटा आयोजनामा करिब ६५ अर्ब नेपाली रुपैयाँ स्वपुँजी लगानी गर्ने योजना बनाएको छ ।

त्यसमध्ये ११ अर्ब परिचालित समेत गरेको कम्पनीको भनाइ छ । त्यस्तै २ हजार ८ सय १० मेगावाटबराबर क्षमताका १४ वटा आयोजनामा करिब ४९ अर्ब नेपाली रुपैयाँ ऋण लगानी गर्ने र त्यसमध्ये १३ अर्ब परिचालित गरिसक्ने लक्ष्य राखेको छ ।

समग्रमा ४३६७ मेगावाटबराबर क्षमताका ३७ वटा आयोजनामा करिब १ खर्ब १४ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने लक्ष्य छ । कम्पनीले यो आर्थिक वर्षमा मात्रै थप १० वटा आयोजनामा लगानी गर्ने लक्ष्य राखेको थियो । जसमध्ये ३ वटा टुंगो लागिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको