३ माघ २०७८, सोमबार

‘जनता सच्चिउ, नेता आफै सच्चिन्छन्’

वि वि श्रेष्ठ

बिचार

अन्ततः नेपालको राजनिती पनि विवेकशुन्य, स्वार्थकेन्द्रितमा गएर स्वखलित भएको छ । नेपाल जस्तो सानो मुलुकमा राजनैतिक पार्टीको यति धेरै संख्याले पनि राजनैतिक दलको भुमिकामाथी प्रश्न चिन्ह खडा भएको छ । जनता कम र कार्यकर्ता धेरै भएको देशमा विना आस्थाका जनताहरु पाउनै मुश्किल भएको छ । राजनिती के र कस्का लागी गरिन्छ भन्ने विश्लेषणविहिन मस्तिष्कमा राजनैतिक दलका नेतृत्वहरुले अझै पनि जनतामा भ्रम सिर्जना गरेर भ्रमित पारिनुले पनि नेपाली जनताको चेतनास्तरको मापन गर्दछ । खेल्ने र खेलाउने प्रवृत्तिको मतियार आम जनता वनिरहँदा नेपालको राजनितीमा स्वार्थ र विवेकशुन्य नेतृत्वको शिकार वनिरहनु परेको छ ।

फेरि पनि नेपालको राजनितीमा माधव कुमार नेपालको एकिकृत समाजवादीको राजनैतिक दल दर्ता भएसँगै राजनैतिक दलको दर्ता र यसको कार्यभार के हुने भन्ने प्रश्न चिन्ह खडा भएको छ । राजनिती के र कसका लागी भन्दा पनि नेतालाई सत्ता र कुर्चिमा पुरयाउन मात्र हो भन्ने चिन्तन जनतामा हुदाँ हुदै पनि त्यसले मुर्त रुप लिन सकेन । एउटै विचार दृष्टिकोण वोकेको दशौ राजनैतिक दलको अर्थ के ? समान विचार र दृष्टिकोणमा आधारित तर धेरै पार्टी हुदाँ आम जनतामा नैराश्यता हुदाँ हुदै पनि तिनै नेताको पछाडी लागेर त्यसको मतियार वन्नु भनेको आम जनताको परनिर्भरता शिवाय अन्य केही होईन । यहि अभाव, प्र्रभाव र आग्रहमा चलेको चेतनामा कसैको गुलामी गर्नु भनेको समान्य भईसक्यो । जुन हरेकतामा पाईन्छ ।

नेपालको सन्र्दभमा यति धेरै पार्टी किन र के का लागी ? विश्वका समृद्ध मुलुकलाई नियाल्ने हो भने यति धेरै राजनैतिक दलहरु पाईदैन । तर नेपालमा नै किन ? गएको प्रतिनिधीसभाको निर्वाचनमा एउटै शक्ति भएर गएको कम्युनिष्ट अन्तत आफनै रागले चाउरिएको छ । टुक्रा, टुक्रामा विभक्त कम्युनिष्ट पार्टी मिल्दा देशको सवैभन्दा ठुलो शक्ति वन्न सकिन्छ भन्ने कुरा पुष्टि भईसकेको छ । तर यति समान्य कुरा हुदाँ हुदै पनि कम्युनिष्ट पार्टी पुन तीन टुक्रामा विभाजित हुनुको कारण अव खोज्ने वेला भएको छ । एउटै कम्युनिष्ट केन्द्र हुदाँ देश र जनतालाई हुने प्रभाव र विभाजित हुदाँ पर्ने प्रभावका वारेमा मुल्यांकन गर्न समेत नसक्नेहरुको नेतृत्वमा रहदाँ त्यसले सिङ्गो देशलाई नै आर्थिक, समाजिक र वैचारिक रुपमा असर को वारेमा हेक्का नै भएन ।

देश प्रविधीमा फड्को मारिरहँदा आम जनता र कार्यकर्ताको चेतनास्तर भने जहाँको त्यहि भईदियो । अथवा अपग्रेड गर्ने हिम्मत नै भएन । जवसम्म आम जनता र कार्यकर्ताले नेतालाई खवरदारी गर्न सक्दैन, नेतृत्वले राज गरिरहनेछ । नेपालको परिवेशमा भएको यहि हो । आम जनता र कार्यकर्ताको यहि कमजोरीमा खेलेर स्वार्थ र सत्ताका लागी नेतृत्वले नयाँ पार्टी दर्ता गर्न अभ्यस्त वनिरहे । यसको पुनरावृत्ति हो, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको दर्ता । पार्टीभित्र विचार, कार्यदिशामा फरक हैन, मान सम्मान र ईगोमा चल्नेहरुले जनता र देशको आवश्यकतामा सधै नजर अन्दाज गरिरहे । देश र जनतालाई समृद्ध र सुखी वनाउन भन्दा पनि सधै आफै मात्र सवल र सक्षम भन्ने कमजोर मानसिकताले राज गरिरहयो । त्यहि नेतृत्वको ईगो र स्वार्थतामा आम जनता र कार्यकर्ता मतियार वनिदियो ।

राजनैतिक दलको नेतृत्वको काम भनेको जनताको कमजोरीमा खेल्ने र राज गर्ने वनिदियो । सामुहिकतामा हैन, जनतालाई देखाएर सत्तामा आसिन हुने तानावाना नै प्रमुख वनिदियो । विचार र दृष्टिकोणमा हेर्ने हो भने नेपालको राजनितीमा दश वटा राजनैतिक दल भए काफी हुन्छ । तर नेपालको सन्र्दभमा कोही मन्त्री वन्न नपाउँदा, कोही अध्यक्ष वन्न नपाउँदा नयाँ पार्टी दर्ता गर्ने होडवाजी नै प्रधान वनिदियो । सवैको समान विचार, दृष्टिकोण र एजेण्डा देखिन्छ, तर पनि यति धेरै दल भनेको सत्ता र शक्तिका खातिर भन्दा अन्य केही हुन सक्दैन ।

नेतृत्वकर्ताले नेतृत्वको लागी तडगभडग समान्य लागेता पनि त्यसको मतियार भएर गुलामी वन्नु आम जनता र कार्यकर्ताको कमजोरी हो । आग्रह र पुर्वाग्रहले तव स्थान पाँउछ, जव उसमा कमजोरी र अभाव हुन्छ । कर्ममा विश्वास नगर्ने र गणेश प्रवृक्तिमा नै आफनो भविश्य खोज्नेहरु देश र जनताका लागी गद्धार हुन् । जुन कमवेशी सवैमा देखिन्छ ।

जवसम्म नेताले देश विगारे भनेर धारेहात लाईन्छ, देशको अवस्था यहि भताभुङ्ग भईरहन्छ । देश र समाज परिवर्तन गर्ने जिम्मा नेताको मात्र होईन, आम जनताको पनि हो भन्ने एकमात्र सत्य को महशुश हुदैन, तवसम्म नेताले खेलाउने र खेल्ने क्रम चलिरहन्छ । सत्यता भित्रको सत्यलाई आत्मासात गर्नका लागी चेतना सँगै आत्माविश्वास पनि हुनुपर्दछ । एकदिनको क्रान्तिकारितामा सफल जीवन देख्नेहरु त्यसको निरन्तरतामा ध्यान दिदैनन् । अहिलेको सवैभन्दा कमजोर पक्ष यहि हो । त्यहि कमजोरी नै जीवनको अभिन्नता वनिदियो ।

सफल आफैमा सहज हुदैन, असहज परिस्थितीको सामना गर्नेहरु अचेतन मस्तिष्कका हुनुपर्दछ, त्यसका लागी ठुलो त्याग र वलिदानी चाहिन्छ, त्यसका लागी आत्मविश्वास र कर्मठ हुनुपर्दछ । त्यो गर्ने हिम्मत नहुनेहरु गुलामी राजनितीको अंशीयारमा अभ्यस्त वन्न पुग्दछ, त्यसको फाईदा उठाएर आम जनतामाथी असक्षम नेतृत्वले राजनितीको नाममा धाँवा वोलिरहन्छ । हामी त्यसको जयजकार गरिरहन्छौ । नेपालको सन्र्दभमा भएको यत्ति हो ।

केही जनता देखाएर राजनितीका नाममा शासन गरिरहने कुरा अव सह्य हुन सक्दैन । राजनितीका परिभाषा समेत थाहा नभएका हरु अव स्वीकार्य हुन सक्दैन । जनताको कमजोरीमा खेल्नेहरु सच्चिन जरुरी छ, नभए पतन अवश्यभावी छ । आफैले आफैमा आत्माविश्वासका साथ कर्ममा तल्लिन रहने हो भने नेताहरुको रैति वन्नुपर्ने छैन । जनताका नाममा अरवै कुम्ल्याउनेहरु देशको नेतृत्वमा रहिरहने हो भने भोली देशको अस्तित्व नै के हुन्छ भन्न सकिदैन । जनता सच्चिने र देश र समाजप्रतिको जिम्मेवारी वहन गर्ने हो भने नेता आफै सच्चिन्छन् । नत्र अभाव र प्रभावको राजनैतिक चेतना रहिन्जेल सम्म नेतृत्वले आम जनतामाथी शासन गरिरहनेछ । जनता नै सच्चिसकेपछि नेता सुध्रनुको विकल्प छैन । नसुध्रिए सकिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको