३ माघ २०७८, सोमबार

माछा पालनमा वडा अध्यक्ष, भन्छन्–‘राजनीतिलाई उत्पादनमा जोड्नु पर्छ’

बन्दिपुर, कार्तिक १०

तनहूँको बन्दिपुर गाउँपालिका–१ का वडा अध्यक्ष भानुभक्त पोख्रेल सामाजिक र राजनीतिक काम बाहेकको फुर्सदको समयमा माछा पोखरी बिताउँछन् । वितग दुई वर्ष देखी उनले व्यवसायीक रुपमा माछा पालन सुरु गरेका छन् । आफ्नै तिन रोपनी जग्गामा पोख्रेलले चार वटा पोखरी खनेर माछा पालन गरेका हुन् ।

राजनीतिक र सामाजिक कामले घर व्यवहार चलाउन कठिन हुने भएपछि कृषिको क्षेत्रमा केही गरौं भन्ने हुटहुटीले माछामा हात हालेको उनले बताए । पानीको पहुँच नभएको ठाउँमा पोखरी खनेर माछा पाल्छु भन्दा सुरुले कसैले पनि नपत्याएको स्मरण गर्दै उनले पछि खोलाको पानी लिफ्टिङ गरेर पोखरी भरेर माछा पाल्न सुरु गरेपछि भने देख्नेहरु अचम्ममा परेको बताए ।

चार वटा पोखरीमा कमनकार्प र पंगास जातका चार हजार माछा पालन गरेको उनले बताए । त्यसकोलागि दुई लाख रुपैयाँ लगानी भएको थियो । पोखरी खन्न भने भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको पोख्रेलले बताए । पोख्रेलले सोमबार पोखरीबाट डेढ सय केजी माछा झिकेर विक्री गरे । कमनकार्प माछा प्रति केजी पाँच सय रुपैयाँ र पंगास जातको प्रति केजी चार सय रुपैयाँमा विक्री भएको थियो । माछा झिक्ने बारेमा सामाजिक सन्जाल फेसबुकबाट जानकारी गराएपछि उपभोक्ताहरु पोखरीमै पुगेको उनले बताए । माछा झिकेर भ्याउँदा सम्म सबै माछा पोखरीबाट नै विक्री भएको उनले जानकारी दिए ।

जनप्रतिनिधिको रुपमा अधिकांश समय जनताकै माझमा बिताएपनि घर व्यवहार चलाउन नियमित आम्दानीको श्रोत चाहिने भन्दै उनले त्यसको प्रभावकारी र उपयुक्त माध्यमको रुपमा माछा पालनलाई रोजेको बताए । धान, मकै र तरकारी खेती भन्दा माछाबाट बढि उत्पादन लिन सकिने भएको हुँदा माछा पालनमा लागेको उनले बताए ।

भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु चिकित्सक रुद्र ठकुरी र बन्दिपुर गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले समय समयमा पोखरीको निरिक्षण गरि सुझाव सल्लाह दिईरहने भन्दै पोख्रेलले पोखरीको नियमित रेखदेख गरिरहने हो भने माछाबाट मनग्य आम्दानी लिन सकिने बताए ।

राजनीति जनताको निशुल्क सेवा गर्ने माध्यम भएको भन्दै राजनीतिमा शुद्धिकरण हुन भ्रष्टाचार र अनियमितता हुनु पर्ने उनले बताए । राजनीतिलाई उत्पादन र उत्पादनको माध्यमबाट आय आर्जनमा जोड्न सकिने हो भने भ्रष्टाचार र अनियमितताहरु नहुने पोख्रेलको भनाई छ । पोख्रेल नेकपा माओवादी केन्द्रको जिल्ला कमिटि सदस्य समेत हुन् ।

पोख्रेलकी श्रीमती मेनका भट्टराईले माछाको हेरचाह गर्दै आएकी छिन् । पोखरीको रेखदेखमा पत्निले सहयोग गरेपनि माछा बिक्रीको लागि बजार क्षेत्र आफुले हेर्ने गरेको पोख्रेल बताउँछन् । यो सिजनमा माछा विक्रीबाट दुई लाख आम्दानी हुने पोख्रेलले विश्वास गरे ।

बन्दिपुर गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानले वडा अध्यक्ष पोख्रेलको कार्यबाट अन्य कृषकहरुलाई पनि सकारात्मक सन्देश गएको बताए । अन्य कृषकहरुपनि माछा पालनको बारेमा आफुसँग बुझ्न आउने गरेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको