३ माघ २०७८, सोमबार

शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली, कार्तिक १६

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम मंगलबार वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न भयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा भानु नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक श्रीकृष्ण त्रिपाठीले नगरपालिकाले चालु शैक्षिक सत्रमा सन्चालन गरेको शिक्षा सम्बन्धि नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले नीति तथा योजना निर्माण गर्दा शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए । संविधानले समेत शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए ।

नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरु ल्याएपनि कार्यान्वयनको भने अभाव भएको उनको भनाई थियो । दिवा खाजा, छात्राहरुलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरु नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयनमा भने समस्या भएको उहाँको भनाई थियो । त्यस्तै विद्यालय क्षेत्र जंकफुड मुक्त गराईएको पनि उनको भनाई थियो ।

५७ वटा सामुदायीक विद्यालय रहेको भानु नगरपालिकाले चालु आर्थिक वर्षमा ५ वटा सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा सन्चालन गरेको, स्थानीय मातृभाषामा पाठ्यक्रमको निर्माण गरिएको, प्रत्येक आधारभुत विद्यालयमा इन्टरनेट जडान, प्राविमा कम्प्युटर र प्रिन्टरको व्यवस्था, बैकल्पिक शिक्षण विधिको विकास तथा कक्षा कोठाको व्यवस्थापन र स्तरोन्नतीको कार्यक्रम सन्चालन भईरहेको त्रिपाठीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वमबहादुर गुरुङले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमुना बनाईने बताए । उनले भौतिक पुर्वाधारको निर्माण, शिक्षक दरबन्दी मिलान जस्ता विषयमा नगरपालिकाले विशेष चासो दिनु पर्ने बताए । विद्यालयका प्रअ विष्णुप्रसाद न्यौपानेले नगरपालिकाले सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयलाई धेरै माया गरेको आरोप लगाए ।

मानवअधिकार समुह भानु नगरपालिकाका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिनोद श्रेष्ठ, छात्रा बिन्दु परियार लगायतले शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको