३ माघ २०७८, सोमबार

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

दमौली, कार्तिक २३

इन्सेक तनहूँको आयोजना तथा मानवअधिकार समुह भानुको संयोजनमा खाद्य अधिकार सम्बन्धी सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रम मंगलबार भानु नगरपालिकामामा सम्पन्न भयो । खाद्य सहित कृषि र पशुपन्छीको क्षेत्रमा नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको बारेमा सेवाग्राहीलाई जानकारी दिने तथा सरोकारवालाको धारणा लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले नगरपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखे पनि त्यसकोलागि बजेट भने पर्याप्त छुट्याउन नसकेको बताए । उनले जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्ष भएको हुँदा काम देखाउन भौतिक पुर्वाधारको क्षेत्रम धेरै बजेट विनियोजन गर्दा शिक्षा, स्वास्थ्य, कृषि र पशुपन्छीको क्षेत्र ओझेलमा परेको बताए । तर पनि जति रकम बिनियोजन भएको छ, त्यसैबाट उपलब्धीमुलक काम गर्ने पौडेलको भनाई थियो ।

पौडेलले खाद्य अधिकार संविधानको मौलिक अधिकार भएको हुँदा त्यसको कार्यान्वयनमा स्थानीय सरकार लाग्नु पर्नेमा जोड दिए । पछिल्लो समय बेमौसमी वर्षाको कारण धानबालीमा क्षती पुगको हुँदा नगरपालिकाक भित्रका कृषकहरुको क्षतीको विवरण संकलन गरि सम्बन्धित निकायमा पठाईएको उनले बताए ।

सो कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख प्रताप पाण्डेले भानु नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सन्चालन गरिएको बताए । वेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम कार्यक्रमहरु सन्चालन गरिएको बताए । उनले एक वडा एक नसर्री कार्यक्रम, धान प्रबद्र्धन कार्यक्रम, हाट बजार निर्माण, किसानको बर्गीकरण, रैथाने बाली प्रबद्र्धन कार्यक्रम सन्चालन गरिएको बताए ।

पशुपन्छी शाखाका प्रमुख खितकुमार श्रेष्ठले उन्नत जातको पशुपन्छी पालनमा जोड दिईएको बताए । माछा पालनमा कृषकहरुलाई आकर्षित गर्न अनुदानका कार्यक्रम, भकारो सुधार कार्यक्रम लगायत सन्चालन गरिएको बताए । एक वडा एक कृषि तथा पशुपन्छी प्राविधिक नियुक्ती गरिएको श्रेष्ठले जानकारी दिए ।

मानवअधिकार समुहका सदस्य खिमकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रुपा लामा, सहकारीकी व्यवस्थापक कमला सेंढाई, कृषि प्राविधिक कुमुद पण्डित, मानवअधिकार समुहका सदस्य विष्णुकुमारी श्रेष्ठ, रुक्मिणी खनाल लगायतले सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको