३ माघ २०७८, सोमबार

एकिकृत समाजबादीलाई महाधिवेशनमा निम्ता नगर्नेः भट्टराई

चितवन, मंसिर १

नेकपा एमालेका सचिव एवं दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने दशौं महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निमन्त्रणा नगर्ने बताएका छन् । महाधिवेशन प्रचार समितिले बुधबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले देशका अन्य पार्टीहरुलाई महाधिवेशनमा निम्ता गरिएपनि नेकपा एकिकृत समाजबादी र सो पार्टीका अध्यक्ष माधव नेपाललाई निमन्त्रणा नगरिएको बताए ।

‘माधवकुमार नेपाल महाधिवेशनमा आउने भए एमालेमा नै रहन्थे, पार्टी फुटाएर गएपछि उनी महाधिवेशनमा आउँदैनन् । एमालेले उनलाई निमन्त्रणा गर्दैन ।’ भट्टराईले भने ‘एमालेले एकीकृत समाजवादीलाई आधिकारिकता पनि दिएको छैन ।’ संयोजक भट्टराईले दजनौं देशका राजनीतिक दलका प्रतिनिधिहरुलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए । उनले भने, ‘एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधिहरुले आउने कन्फर्म गरिसकेका छन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरुलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।’

प्रचार समिति संयोजक भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न संगठनहरुमा महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत भइसकेकोले यसपटकको चितवन महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे । ‘लोकतान्त्रिक प्रणाली अनुरुप सबै नेताहरुले उम्मेदवारी दिने अधिकार भने रहन्छ, अहिले नै को पार्टीको अध्यक्ष हुने भन्ने एमालेले निर्णय गरेको छैन ।’ उनले आफू के मा उठ्ने भन्ने समय आएपछि बताउने बताए ।

नेकपा एमालेले आगामी मंसिर ७ गते देशका सबै जिल्लाका प्रमुख शहरहरुमा १० औं महाधिवेशनलाई लक्षित गरेर मोटरसाइकल ¥याली गर्ने भएको छ । प्रचार समितिका संयोजक भट्टराईले चितवन महाधिवेशनको प्रचारप्रसारको लागि देशव्यापीरुपमा सबै जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली अभियान आयोजना गरिएको जानकारी दिए । उनले मोटरसाइकल ¥याली विशेष त काठमाडौँ–चितवन, बुटवल–चितवन र बीरगञ्ज चितवन लक्षित एवम् केन्द्रीत गरी मोटरसाइकल ¥याली सञ्चालन गरिने बताए । यसको संयोजनको लागि एमालेले राष्ट्रिय युवा संघ नेपाल, खेलकुद महासंघ र अनेरास्ववियुले देशभरी यस कार्यक्रमको संयोजन गर्ने उनले बताए ।

एमालेले दशौं महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर पूरै डिजिटल मिडियाको प्रयोग गर्ने भएको छ । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी भाषामा प्रचार ब्यानर र भिडियो क्लिपहरु निर्माण गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० वटा भिडियो तथा अडियो क्लिप र वृत्तचित्रहरु बनाएर प्रचार गर्ने तयारी गरेको जानकारी दिइयो । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारको लागि सामाजिक माध्यमहरु फेसबुक, टिकटक र युट्युबहरुलाई पनि प्रयोगमा ल्याउने जनाएको छ ।
पत्रकार सम्मेलनमा एमालेले देशभरका पार्टी संगठन र जनसंगठन केन्द्रित कार्ययोजनाबारे देशभरका ७५३ वटा पालिकाहरुकै तहसम्म अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ । यसैगरी चितवन प्रवेशको मुख्य नाकाहरु र राजमार्ग क्षेत्रमा नवनिर्वाचित पालिका र वडा कमिटीहरुले महाधिवेशनको प्रचारप्रसारको उद्देश्यअनुरुपका भव्य र आकर्षक स्वागतद्वारहरु निर्माण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलन अघि महाधिवेशन प्रचार प्रसार सहयोग समितिको बैठक बसेको थियो । सो बैठकले चितवनका एमाले नेता बिजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यिय प्रचार सहयोग समिति गठन गरेको थियो ।

यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवन गठन गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन् । समितिको सदस्यहरुमा रमाकान्त सापकोटा, प्रकाश खनाल शैलेस, प्रकाश ढुंगाना, खोमकान्त रेग्मी, भक्ति गौतम, देव पाठक, रविकिरण पौडेल, शिसिर सिंखडा, हरि पोखरेल, वीरेन्द्रमणि पौडेल, नवराज ढकाल, सुवास पण्डित, कृष्ण आचार्य, तीर्थ नेपाल, अनन्तप्रकाश सुवेदी, दीपेन्द्र अधिकारी, प्रतिमा सिलवाल, नारायण सापकोटा, शान्ता अधिकारी, रोहिणी त्रिपाठी, राजकुमार भट्ट, श्रीप्रसाद दवाडी, गोपी नेपाल, रुद्र उप्रेती, कृष्ण गिरी, होमनाथ सापकोटा रहेका छन् ।

यसैगरी केशव आचार्य, भरत भण्डारी श्यामसुन्दर उप्रेती, भोजराम थपलिया, नविन सिग्देल, यमनाथ आचार्य, विष्णुभक्त सिग्देल, सुरेश श्रेष्ठ, राधिका सापकोटा, केसी लामिछाने, प्रदीप आचार्य, प्रकाश दाहाल, बुद्धिसागर पोखरेल, प्रकाशचन्द्र भट्टराई र धर्मेन्द्र दाहाल समितिको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको