३ माघ २०७८, सोमबार

एमाले महाधिवेशनः तयारी ७५ प्रतिशत पुरा, केन्द्रीय नेताहरु चितवनमा

भरतपुर, मंसिर ८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराह क्षेत्रमा चहल पहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठनका नेताहरु चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पनि आउने क्रम सुरु भएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १२ बजे नारयणी नदिको किनारमा हुने छ ।

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदीको किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिएको छ । हालसम्म मन्च व्यवस्थापनको ७५ प्रतिशत काम पुरा भएको एमाले केन्द्रीय कमिटीका सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । महाधिवेशनको मञ्च बनाउँदा लाखौं मानिसले एकै साथ हेर्न मिल्ने गरी डिजाइनिङ गरिँदै छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने एमालेले केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुर महानगरका विभिन्न २० स्थानमा उद्घाटन समारोहलाईलाई प्रत्यक्ष रुपमा हेर्न एलसीडी बोर्ड राख्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । महानगरका विभिन्न स्थानमा जुलुसमा सहभागी हुन आउने व्यक्तिहरुका लागि ती बोर्डहरु राख्न लागिएको हो । यस्तै कार्यक्रमस्थलबाट पारी तर्फको गैडाकोटको नारयणी किनारमा पनि झन्डै एक लाख सहभागीलाई राख्ने योजना बनाइएको छ । नदी पारी पनि एलसीडी बोर्ड राखिने तयारी भएको बताईएको छ ।
सभास्थलमा ड्रोन क्यामेराहरू प्रयोग गरिनेछन् । उद्घाटन स्थलका गतिविधि ड्रोनबाट लाइभ गरिनेछ । उद्घाटनको मञ्चमा पनि ठूला ठूला एलईडी टीभी सेट राखिने छ । जसमा मञ्चमा रहेका अतिथिले पनि सबैतिरको दृश्य हेर्न सक्ने व्यवस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

मञ्च निर्माणमा १० जना इञ्जिनियर सहित करिब २ सय जना खटिएका छन् । डिजाइनर महेन्द्र श्रेष्ठले मञ्चको डिजाइन गरेका हुन् । १६ फिट अग्लो भागमा आर्क डिजाइन गरिएको छ । लंग लाइभ सिपिएन युएमएल लेखिएको ठुलो फ्लेक्समा चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडा, हात्ती,बाघ, जरायो लगायतका चित्रहरु राखिएका छन् । कुर्सीहरु राख्न प्लाई राख्ने काम भैरहेका छन् । अग्रभागमा जनताको बहुदलीय जनवाद–जिन्दावाद लेखिएको छ ।

मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । नारायणी पुलमा ‘एमाले जिवन्त रहोस’ लेखिएका फ्लेक्सम राखिएका छन् । तस्बिर खिच्दा ‘जनताको बहुदलीय जनवाद–जिन्दावाद’ लाई फ्रेममा राख्न मिल्ने गरी सेल्फी प्वाइन्टहरु बनाइएका छन् । नारायणी किनारमा २५ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् । बाढीले खाल्डाखुल्डी पारेको चौरमा बालुवा, माटो राखेर सम्याउने काम भइरहेको छ ।

बन्दसत्र हुने सौराहा स्थित होटल सेभेन स्टार अस्थायी हल (डोम) निर्माण कार्य भइरहेको छ । करिब ३ हजार सो हलमा बस्न मिल्नेछ । मञ्च व्यवस्थापन, उद्घाटन स्थल र बन्दसत्र हुने क्षेत्रमा बनाइने अस्थायी संरचनाहरु निर्माणमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

रिपोटिङमा खटिने सन्चारकर्मी र प्रत्यक्ष प्रसारणमा लाई क्यामेरा राख्नका लागि मूल मञ्चको समदुरीमा छुट्टै बस्ने व्यवस्था गरिँदै छ । मिडियालाई प्रत्यक्ष प्रशारण गर्न सहजताका लागि एमाले नै ब्यवस्था गरेको क्यामेरा र प्रविधिको सहयोग लिन सकिने प्रचार विभागका प्रमुख भट्टराईले बताए ।

यसैविच नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नेताहरुको चहलपहल बढेको छ । महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन पुग्ने क्रम जारी छ । राजधानीसहित देशका विभिन्न भागबाट आएका नेता–कार्यकर्ताको नारायणी किनारमा भीड लागेको छ । बुधबार प्रचार विभाग प्रमुख भट्टराई सहितका नेताहरु चितवन पुगेका छन् । नेताहरुले उद्घाटन स्थल र बन्द सत्र स्थलको अनुगमन गरेका छन् । अध्यक्ष केपी ओली सहितका नेताहरु विहिबार चितवन आउने छन् । विहिबार साझँ चितवनमा एमालेको केन्द्रीय समितिको अन्तिम बैठक राखिएको छ ।

महाधिवेशनको तयारीको बारेमा विस्तृत जानकारी दिन बिहिबार दिउँसो महाधिवेशन उद्घाटन स्थलमा प्रेस चौतारी चितवनले पत्रकार सम्मेलन गर्ने भएको छ । महाधिवेशनमा आउने नेता कार्यकर्ताको स्वागतको लागि नारयणगढ र भरतपुर बजारका विभिन्न स्थानमा स्वागत गेटहरु बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको