३ माघ २०७८, सोमबार

नेकपा एमालेको महाधिवशेन आजदेखी चितवनमा

उद्घाटन सत्रमा पाँच लाखको सहभागिता हुने, २१७५ प्रतिनिधि, आठ देशका अतिथी सहभागी

दमौली, मंसिर १०

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन नारयणी नदीको किनारमा हुने छ । बन्दसत्र भने पर्यटकीय नगर सौराहामा हुने छ । महाधिवेशन मंसिर १२ गतेसम्म हुनेछ ।

महाधिवेशनको सबै तयारी सकिएको एमालेले जनाएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । एमालेका सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको सबै तयारी सकिएको र उद्घाटनको पर्खाईमा रहेको बताए । प्रेस चौतारी चितवनले विहिबार महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले महाधिवेशनको सबै तयारी पुरा भएको बताए । महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने भट्टराईले बताए ।

उद्घाटन सभामा ५ लाख भन्दा बढिको जनसहभागिता रहने भट्टराईले दावी गरे । एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । उद्घाटन स्थलमा सहभागि नअट्ने भएकोले नवलपुर तर्फको नदीको किनारमा पनि ठुला ठुला स्क्रिन राखेर अवलोकन गर्न मिल्ने बनाईने भट्टराईले बताए ।

बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले बताए । महाधिवेशनको उद्घाटन स्थलमा सबै सहभागी आउन नसक्ने भएकोले नारयणढ र भरतपुर बजार क्षेत्रमा विभिन्न डिजिटल बोर्ड राखेर हेर्न मिल्ने बनाईने भट्टराईले बताए । उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालले जनाएको छ । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने छ ।

महाधिवेशनमा दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १ सय ३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६ सय २७ जना महिला र २ सय ९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्नेछन् । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमालेको महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् । महाधिवेशनलाई जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुभकामना दिने तय भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि निम्ता दिईएको तर उनी आउने या नआउने नश्चित नभएको र नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको भट्टराईले बताए ।

हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली नेपाल आइसकेको र अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने बताए । भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ । त्यस्तै कोरोना महामारीका कारण देखाउँदै चिनियाँ कम्युनिष्ट पार्टीका कुनै पनि नेता महाधिवशेनमा आउने छैनन् ।

दुई महिना अघि विधान महाधिवेशनबाट आफ्नो नीति, कार्यदिशा, विधान पारित गरिसकेको एमालेले महाधिवेशनबाट नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशन लगत्तै एमाले तिन वटै तहको र्निाचनको तयारीमा लाग्ने प्रचार विभागका प्रमुख भट्टराईले बताए । ‘यो हप्ता हाम्रो अर्जुनदृष्टि महाधिवेशननै हो, लगत्तै महाभारतमा अर्जुनले जुनदृष्टि लगाउँछन्, त्यसरीनै एमालेको दृष्टि अब चुनाव हुन्छ, सम्पूर्ण ढंगले एकतावद्ध हुन्छ, तीनै तहका चुनावमा बहुमत ल्याउने गरी संकल्प गर्नेछ ।’ उनले अव समाजवादको आधार निर्माण गर्ने उन्नत र समृद्ध कार्यदिशातर्फ एमालेको लक्ष्य भएको बताए ।
नेता भट्टराईले पार्टीभित्रका अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगले समाधान गर्दै देशकै एकमात्र कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरिने बताए । ‘यथास्थितिवादी र दक्षिणपन्थी शक्तिसँग प्रतिस्पर्धा हुन्छ, एमाले स्थापित हुनेछ’, उनले भने, ‘देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रुपमा एमाले स्थापित हुनेछ ।’

तनहूँँबाट २० हजार कार्यकर्ता सहभागी हुने

यसैविच एमालेको महाधिवेशनमा तनहूँँबाट २० हजार कार्यकर्ता सहभागी हुने भएका छन् । पाँच सय भन्दा बढि सवारी साधनमा २० हजार भन्दा बढि कार्यकर्ता चितवन जाने एमाले जिल्ला कार्यालय सचिव राजेश्वर ढकालले बताए । सयौं कार्यकर्ताहरु विहिबार साँझ नै आफ्नै सवारी साधनमा चितवन पुगिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको