३ माघ २०७८, सोमबार

काँग्रेसको जिल्ला निर्वाचनमा जोशी समुह निर्णायक

दमौली, मंसिर १५

नेपाली काँग्रेस तनहूँको निर्वाचनमा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको समुह निर्णायक बनेको छ । काँग्रेसको मुलधारको राजनीतिबाट अलग भएर स्वतन्त्र अभियान सन्चालन गरेपनि जोशीको पकड तनहूँको काँग्रेसको संगठनमा अझै पनि कायम रहेको जिल्ला अधिवेशनले पुष्टि गरेको छ ।

खास गरि बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको राजनीतिक टकराबकै कारण जोशी काँग्रेसको राजनीतिबाट बाहिरिन बाध्य भएका थिए । सोही कारण जोशीले पनि ऐन मौकामा पौडेललाई कमजोर पार्दै आएका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा पनि जोशीले पौडेललाई हराउन खुलेर लागेको काँग्रेसकै नेताहरुले स्विकार गरेका छन् ।

यसपटकको जिल्ला अधिवेशनमा पौडेल निकट व्यक्तिहरुलाई हराउन जोशीले अर्काे समुहलाई सहयोग गरेका थिए । यस अघि आफ्नै समुहका नेताहरु कृष्णप्रसाद गौतम, उदयराज गौली, चिनु पोख्रेल, सुर्यचन्द्र हड्खले, डिल्लीराम अधिकारी लगायतका नेतालाई पौडेल समुहले आफ्नो पक्षमा लगेको जोशीको गुनासो रहँदै आएको छ । सोही कारण पनि जोशीले पौडेल समुहलाई जिल्लामा कमजोर बनाउन लागिपरेका हुन् ।

जिल्ला सभापतीमा बरिष्ठ नेता पौडेल निकट रहेका बैकुण्ठ न्यौपानेलाई पराजित गर्दै जितप्रकाश आले निर्वाचित भएका थिए । यद्यपी आले विगतमा पौडेल समुहकै नेताका रुपमा चिनिन्थे । यस पटक सर्वसम्मत रुपमा सभापतीको आशा गरेका आले न्यौपानेले नै पुनः सभापतीमा दोहो¥याउने भएपछि पौडेललाई छोडी सभापती शेरबहादुर देउवाको क्याम्पमा प्रवेश गरेका थिए । आलेलाई सभापती जिताउन देउवा निकट नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्लेहरु लागेका थिए ।

दुई साता अघि लोकवाणी दैनिकका सम्पादकले काँग्रेस नेता जोशीलाई भेट्दा जिल्ला सभापतीको उम्मेदबारमा कसलाई सहयोग गर्नुहुन्छ भन्ने प्रश्न गर्दा जोशीले जुन उम्मेदबारलाई सहयोग गर्दा रामचन्द्र पौडेल कमजोर हुन्छन् उनैलाई सहयोग हुन्छ भन्ने जवाफ दिएका थिए । यसैबाट पनि प्रष्ट हुन्छ यो निर्वाचनमा जोशीले पौडेल निकट न्यौपानेलाई हराउन आलेलाई सहयोग गरेका थिए । जोशी निकट करिब २ सय क्षेत्रीय प्रतिनिधिले जिल्ला सभापतीमा आलेलाई मतदान गरेका थिए ।

जिल्ला अधिवेशनको परिणामले तनहूँको काँग्रेसको राजनीतिमा अव पौडेल र बैकुण्ठ न्यौपानेहरु कमजोर बनेको पुष्टि भएको छ । अव स्थानीय, प्रदेश र संघको निर्वाचनमा पौडेलले चाहे अनुसार नहुने भएको छ । जिल्ला सभापतीमा बिजयी बनेर पुनः एक पटक व्यास नगरपालिकाको मेयर बन्ने न्यौपानेको चाहानामा ठुलो धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको