३ माघ २०७८, सोमबार

स्थानीय तहबाट नै मतदाता नामावली संकलन गरिने

दमौली, मंसिर १६

तनहूँमा सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले मङ्सिर १७ गते शुक्रबारदेखि दुई चरणमा गरी ९ वटा स्थानीय तहबाटमतदाता नामावली सङ्कलन गर्ने व्यवस्था मिलाउन लागेको हो । जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाट सङ्कलन को व्यवस्था मिलाउन लागिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ मतदाता नामावली सङ्कलनका लागि ९ जना दर्तास्थल व्यवस्थापक, पाँच जना दर्ता कर्मचारी, ९ जना सहायक दर्ता कर्मचारी र ९ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन हुने ढकालले बताए ।

सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्ता स्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । मतदाता नामावली सङ्कलनमा सबैलाई सहभागी गराउन कार्यालयले प्रचारप्रसार, स्थानीय तहमा सूचना टाँस गरिसके को जनाएको छ भने राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारमाध्यमबाट पनि सहयोगको अपेक्षा गरेको ढकालले बताए । “सबैको सहयोगले मात्रै यो कार्यक्रम सफल हुन्छ, राजनीतिक दल, जनप्रतिनिधिले वडा स्तरसम्म कार्यक्रमको बारेमा प्रचारप्रसार गरिदिनुपर्छ,” उनले भने । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भईरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने ढकालले बताए ।

अन्य जिल्ला स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहूँमा रहेका नागरिकहरुले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा मङ्सिर १७ गतेदेखि नाम दर्ता गराउन सक्नेछन् । मतदाता नामावली सङ्कलनलाई सहजता दिन जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।

मतदाता नामावली सङ्कलन कार्यको प्रचारप्रसारका लागि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनमा सबै नागरिकको
सहभागिताका लागि मतदाता नामावली दर्ता गराउन सबैले सहयोग गर्नुपर्ने बताए । नेकपा एमाले तनहूँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अभियान सफल पार्न राजनीतिक दलको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको