१० जेष्ठ २०७९, मंगलवार

जोशीसँग रामचन्द्रको लफडा शृङ्खला

तनहुँको व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका पौडेल र तनहुँकै भानु नगरपालिका– ११, रूपाकोटमा जम्मिएका जोशी एकै क्षेत्रका बासिन्दा हुन् । तर उनीहरूबीचको राजनीति सधैँ टकरावमा बितेको त्यहाँका कार्यकर्ता बताउँछन् । पौडेल र जोशीबीच सुरुदेखि नै सुमधुर सम्बन्ध भएको पाइँदैन ।

उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ । २०२१ मा पहिलो पटक भेटवार्ता हुँदादेखि आफूहरुबीच सम्बन्ध राम्रो नभएको जोशीले रातोपाटीलाई बताए ।
यसबाट पौडेल र जोशीको लडाइँ राजनीतिमा लागेदेखि नै हुने गरेको बुझ्न सकिन्छ ।

०२३ मा गण्डकी छात्र समितिको सभापति हुँदादेखि नै पौडेल आफूविरुद्ध लागिरहेको जोशीको आरोप छ । पौडेलको विरोधका बाबजुद पनि त्यतिबेला आफूले सभापति जितेको उनले सुनाए ।

पौडेलले जेलमा हुँदा पनि आफूमाथि पूर्वाग्रही सोच पालेको जोशीले बताए । ०२७ मा पौडेल र जोशी भद्रगोल जेलमा २५ दिन एउटै खाटमा सुतेका थिए । तर पौडेलले जेलमा परेकाहरूको सूचीमा पत्रिका निकाल्दा आफ्नो नाममा नियतवस छुटाएको सुनाए । जोशीका अनुसार त्यतिखेर त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित ‘सङ्क्रान्ति’ पत्रिकाका सम्पादक पौडेल नै थिए ।

जेलको एउटै खाटमा सँगै सुतेर पनि पौडेलले आफ्नो नाम पत्रिकामा राख्नसमेत कन्जुस्याइँ देखाएर झेलभित्र पनि खराब नियत रहेको जोशीको आरोप छ । तर जोशी र पौडेलको जेल बसाइ फेरि पनि सँगसँगै हुने गर्यो । पौडेल र जोशी ०२४ र ०२७ मा गरी भद्रगोल जेलमा दुई पटक सँगै बसेका थिए ।

जोशीका अनुसार ०३६ मा पोखरा जेलमा र ०४२ मा गोरखा जेलमा नौ–नौ महिना सँगै बसेका थिए । गृह जिल्ला तनहुँको दमौलीमा पनि धेरै पटक पौडेलसँगै जेल जीवन बिताएको जोशीले सुनाए ।

पौडेलले खराब नियतका कारण जेलभित्र पनि आफूहरुबीच सम्बन्ध समधुर बन्न नसकेको उनको बुझाइ छ । जोशीले भ्रष्टाचार मुद्दा लाग्नुमा पनि पौडेलकै हात रहेको आफू निकटस्थहरूलाई बताउने गरेका पाइन्छ ।

तर जोशीले पौडेललाई बेलाबखत साथ दिँदै आएको पनि पाइन्छ । संसदीय दलको नेताका लागि जोशीले पौडेललाई सघाएका थिए । राजनीतिको उत्तराद्र्धमा पौडेल र जोशी मिल्छन् भन्ने धेरैलाई आशा थियो । तर ०७० मा पौडेलकै कारण जोशीले टिकट नपाएपछि उनीहरुबीच फेरि दूरी बढ्यो ।

फेरि दुवै जना रोक छेकको रणनीतिमा उत्रिए । ०७२ मा भएको १३औँ महाधिवेशनमा जोशीले देउवालाई सघाउन पुगे । ०७४ मा भएको आमचुनावमा पनि उनी पौडेल पराजित गराउने रणनीतिमा मैदानमा उत्रिए ।

पार्टी सभापतिदेखि र प्रतिनिधिसभा चुनावमा पनि पराजित हुनुमा जोशीको पनि विशेष हात रहेको पौडेलको बुझाइ छ ।

पौडेलले त्यसको तुष ०७५ पुसमा सम्पन्न महासमिति बैठकमा सहभागी हुनबाट वञ्चित गराएर पोखे । त्यतिले पौडेल सन्तुष्ट हुन सकेनन् । काँग्रेसमा ४ दशक राजनीतिक जीवन बिताएका जोशीलाई ५ वर्षका लागि निष्काशित पनि गराए । यसमा पौडेलसँगै देउवाको पनि हात रहेको जोशीको दाबी छ । आफूमाथि यत्रो अन्याय हुँदा पार्टीका अन्य नेताहरु नबोल्नुले दुखित देखिन्छन् ।

रातोपाटीसँग उनले भने, ‘शशांक कोइराला, शेखर कोइराला र सुजाताहरुका बाउका लागि मैले आफ्नो बाबुआमा नभनी जीवन हत्केलामा लिएर हिँडेको हो । उनीहरु किन चुप लागे रु यसमा म अरू धेरै बोल्ने पक्षमा छैन ।’

आफू राष्ट्रियता प्रजातन्त्र, बीपी कोइरालाप्रतिको आफ्नो निष्ठालाई कायम राख्दै अगाडि बढ्ने उनले बताए । उनले भने, ‘राजनीति यस्तै हो । सङ्घर्षमय हुन्छ अगाडि बढ्ने हो । अरू केही सोचेको छैन । यो शेरबहादुर र रामचन्द्रको दुवैको पूर्वाग्रह हो । उहाँहरु छुद्र मानसिकता भएका मान्छे हो ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको