१० जेष्ठ २०७९, मंगलवार

ओली सरकारको उपहारः तनहूँसुर जाने सडक कालोपत्रे

दमौली, पुस २९

तनहूँको ऐतिहाँसिक स्थल तनहूँसुर जाने खड्गकाली मोटरमार्ग कालोपत्रे भएको छ । उक्त मोटरमार्गको ५ दशमलव ६ किलोमिटर खन्डमा कालोपत्रे, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पुरा भएको छ । अव ऐतिहाँसिक तनहूँसुर दरबार सम्म पुग्न करिब साँढे दुई किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । हाल व्यास नपा ११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्रे भएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय तहको साझेदारीमाा एउटा मुख्य योजना छनौट गरि कार्यान्वयन गर्ने निर्णय अनुसार तनहूँ क्षेत्र नम्बर १ अन्तर्गत उक्त सडक कालोपत्रे गर्ने योजना छनौट भएको थियो । कुल १० करोडको इष्टमेट भएपनि टेन्डर प्रक्रिया मार्फत ऋषी शक्ति जेभीले ७ करोड ५१ लाख रुपैयाँमा उक्त कालोपत्रे र पक्की नाला निर्माण गरेको खड्गकाली मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सन्जय श्रेष्ठले बताए ।

उक्त योजना कार्यान्वयनकोलागि संघीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएका थिए । कालोपत्रे सडक मार्फत अव तनहूँसुर दरबार जान सदरमुकाम दमौलीबाट आधा घन्टामा पुग्न सकिन्छ । ओली सरकारले तनहूँसुरका जनतालाई उक्त सडक उपहार दिएको सडक उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । उक्त सडकको योजना छनौटको लागि तनहूँ क्षेत्र नम्बर १ का तत्कालिन एमाले सांसद तथा वर्तमान श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको श्रेष्ठले बताए ।

यस अघि कच्ची सडक हुँदा ऐतिहाँसिक तनहूँसुर ओझेलमा पर्दै आएको थियो । अव कालोपत्रे बाटो हुँदै आधा घन्टामा सजिलैसँग तनहूँसुर पुग्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने आशा श्रेष्ठले गरे । तनहूँसुरमा तत्कालिन सेन बंशीय राजानको दरबार, पुराना हातहतियार, गद्धी चौतारा लगायतका ऐतिहाँसिक सम्पदा तथा सुर्याेदय र सुर्यास्तको मनोरम दृश्यवलोकन, मनरोम हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको