१० जेष्ठ २०७९, मंगलवार

व्यासको विरासत जोगाउन काँग्रेसलाई चुनौती, दिपक जोशी काँग्रेसको लागि चुनौती बन्दै

दमौली, माघ २६

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै तनहूँमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लाका प्रमुख पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै तयारीमा जुट्न पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । निर्वाचनको तयारीको लागि नेकपा एमालेको जिल्ला कमिटिको बैठक यही फागुन १ गतेको लागि तय गरिएको छ ।

निर्वाचनको घोषणासँगै राजनीतिक दलहरुमा सरगर्मी बढ्न थालेको छ । तनहूँका १० स्थानीय तह मध्ये सबैभन्दा बढि चुनावी सरगर्मी सदरमुकाम रहेको व्यास नगरपाललिकामा बढ्ने गर्छ । नेपाली काँग्रेसको परम्परागत गढको रुपमा रहेको व्यास नगरपालिकामा यस पटकको निर्वाचनमा काँग्रेसलाई आफ्नो बिरासत जोगाउने ठुलो चुनौती देखिएको छ । उम्मेदबार चयनको क्रममा सबैको भावना समेट्न नसक्ने हो भने यस पटक व्यास नगरपालिकाको विरासत काँग्रेसले गुमाउनु पर्ने अवस्था पनि आउन सक्छ ।

हालका व्यास नगरपालिकाका मेयर समेत रहेका बैकुण्ठ न्यौपानेलाई जिल्ला अधिवेशनमा सभापतीमा पराजित गरेको समुहले यस पटक न्यौपानेलाई पुनः उक्त नगरपालिकाको मेयर बन्न समेत रोक्ने अभियानमा लागेको छ । न्यौपाने यस पटक पनि व्यासको मेयरमा दोहोरिने दाउमा छन् । वर्षाैदेखी न्यौपानेको सहयोगी बन्दै आएका विश्व वास्तोलालाई व्यास नगरपापलिकाको मेयर बनाउने आश्वासन सहित अर्काे समुहले न्यौपानेबाट अलग गर्न सफल भएको थियो । सोही कारण न्यौपाने जिल्ला सभापतीको निर्वाचनमा कमजोर बनेका थिए । यही आन्तरिक कलहको कारण यस पटकको व्यास नगरपालिकाको निर्वाचनमा काँग्रेस कमजोर बन्ने आंकलन गरिएको छ ।

तर काँग्रेसको आन्तरिक कलहलाई नेताहरुले अन्तिम समयमा मिलाउने गरेको बिगतको अनुभवको कारण पनि कार्यकर्ताले यसलाई खासै ठुलो समस्या ठानेका छैनन् । स्थानीय निर्वाचनको केही महिना भित्रैमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने भएको कारण पनि स्थानीय तहमा टिकट नपाएकालाई प्रदेशमा वा प्रतिनिधि सभामा टिकट व्यवस्थापन गर्ने भन्ने आश्वासन दिएर नेताहरुले मिलाउन सक्छन् ।

तर नेपाली काँग्रेसलाई यस पटकको निर्वाचनमा सबैभन्दा ठुलो चुनौती भनेको सो पार्टीका पुर्व नेता तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशीका पुत्र दिपकराज जोशी हुन सक्छन् । जोशी यस पटक व्यास नगरपालिकाको मेयरमा उम्मेदबार बन्ने अभियान सन्चालन गरि महिनौंदेखी तनहूँमा क्रियाशिल छन् । यो विचमा जोशी बाबु छोराले नगरपालिकाका प्रत्येक वडामा पुगी कार्यकर्ता भेटघाट गरिसकेका छन् । नेता जोशीले आफु यस पटक प्रतिनिधि सभामा उम्मेदबार हुने भन्दै कार्यकर्तालाई भेट्ने गरेका भएपनि जोशीको अन्तिम उद्देश्य भनेकै छोरा दिपकलाई व्यास नगरपालिकाको मेयर बनाउने हो ।

जोशीको भ्रष्टाचार सम्बन्धि मुद्धा सर्वाेच्च अदालतमा विचाराधिन रहेको र सोही मुद्धाको कारण २०७४ सालमा उनको उम्मेदबारी रद्ध भएको नजिर कायमै रहेको अवस्थामा जोशी पुनः प्रतिनिधि सभामा उम्मेदरबार बनेर विगतको जस्तो आफ्नो उम्मेदबारी रद्ध गराउने अवस्थामा पुग्लान भन्नेमा धेरैले आशंका गरेका छन् । किनकी उनको मुद्धा २०७४ सालमा जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामा छ । २०७४ सालमा जुन कारणले उनको उम्मेदबारी रद्ध भयो, यस पटक पनि सोही नजिरलाई आधार मान्दै उनको उम्मेदबारी रद्ध हुने धेरैलाई विश्वास छ । सोही कारण जोशी यस पटक छोरा दिपकलाई व्यास नपाको मेयर बनाएर काँग्रेसको पराम्परागत गुटमा आफ्नो गुटलाई पनि प्रतिश्पर्धी बनाउने योजनामा छन् ।

आफुलाई काँग्रेसले साधारण सदस्यताबाट कारवाही गरेको हुँदा काँग्रेसको निर्णय आफ्नो लागि लागु हुन नसक्ने भन्दै जोशीले स्वतन्त्रबाट भएपनि दिपकलाई उम्मेदबार बनाउने अवस्था सिर्जना भएको छ । यसको लागि जोशीले अन्य दलसँग पनि छलफल थालेका छन् । उनको नजरमा व्यासमा दोश्रो शक्तिको रुपमा रहेको नेकपा एमाले परेको छ । काँग्रेसको प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेले व्यास नपामा काँग्रेसलाई पराजित गर्न जोशीसँगको सहकार्यमा हात नबढाउला भन्न सकिने अवस्था छैन ।

एमाले एक्लैले काँग्रेसलाई पराजित गर्न नसक्ने वर्तमान अवस्थाको कारण एमालेले व्यासको मेयरमा स्वतन्त्रबाट उम्मेदबार बन्ने दिपक जोशीलाई समर्थन पनि गर्न सक्ने अवस्था छ । तर एमालेले तनहूँका अन्य स्थानीय तहमा पनि सहकार्यको प्रस्ताव जोशीसँग अनौपचारिक रुपमा राखेको छ । नेकपा एमालेका एक जिल्ला स्तरीय नेताले जोशी समुहसँगको सहकार्य व्यास नगरपालिकोका हकमा मात्र लागु नहुने बताए । व्यासको उपमेयर सहित बहुमत वडा र अन्य स्थानीय तहमा पनि प्रमुख पदमा एमालेलाई समर्थन गर्ने हो भने जोशी सँग चुनावमा सहकार्य हुन सक्ने ति नेताले बताए ।

जोशी समुहले एमालेसँग व्यासको मेयर र भानुको उपमेयर तथा बन्दिपुरमा पनि अध्यक्ष वा उपाध्यक्ष मध्ये एक पद र केही वडा अध्यक्षहरु माग गरेको छ । तर एमाले र जोशी समुहको विचमा निर्वाचन केन्द्रित विषयमा गम्भिर रुपमा भने छलफल भएको छैन । जोशी समुहको प्रस्ताव अनुसार एमाले सहकार्य गर्न तयार भएमा आगामी स्थानीय तहको निर्वाचनमा तनहूँका स्थानीय तहमा काँग्रेसलाई ठुलो चुनौती बन्न सक्ने स्थिती आउन सक्छ । त्यस मध्येमा व्यास नगरपालिकाको निर्वाचन काँग्रेसकोलागि फलामको चिउरा चपाउनु सरह हुन सक्ने काँग्रेसकै एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको