१० जेष्ठ २०७९, मंगलवार

स्थानीय निर्वाचन केन्द्रीत अभियानमा एमाले तनहूँ, नेताहरुको कार्य विभाजन

दमौली, फागुन २

नेकपा एमाले तनहूँले स्थानीय निर्वाचन केन्द्रीत अभियान सुरु गर्ने भएको छ । पार्टी जिल्ला कमिटिको आईतबार दमौलीमा सम्पन्न पुर्ण बैठकले प्रत्येक टोल स्तर देखी नै निर्वाचन केन्द्रीत विशेष अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

त्यसकोलागि प्रत्येक टोल कमिटिको गठन, वडा कमिटि र स्थानीय तह कमिटिको बैठक, भेला र प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने एमालेले निर्णय गरेको छ । एमालेले फागुन १२ गते अघि नै सबै टोल कमिटिको गठन गरिसक्नु पर्ने तथा १२ गते भित्र सबै वडा कमिटिको बैठक तथा फागुन १५ गते भित्र स्थानीय पालिका कमिटिको बैठक गरिसक्ने एमालेले निर्णय गरेको छ । सम्बन्धित कमिटिको बैठकको दिन नै सम्बन्धित कमिटि तथा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय भएको एमाले तनहूँका सचिव राजेश्वर ढकालले बताए । फागुन महिना पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता फारम भर्ने महिना भएको हुँदा त्यसको काम पनि सँगसँगै हुने एमाले तनहूँले निर्णय गरेको छ ।

बैठकमा पार्टीको जिल्ला अधिवेशनको समिक्षा गरि अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले जिल्ला कमिटिको रिक्त रहेको स्थानमा भानुका शंकर रानाभाट र गोविन्द मिश्र, देवघाटका शिवराज पौडेल, व्यासकी सिता कैनी र संगिता विक, म्याग्देकी सुनिता नेपाली र शुक्ला गन्डकीकी सुर्यकला ढकाललाई मनोनित गरेको छ भने विधान अनुसारको मनोनित भने आगामी बैठकमा गर्ने निर्णय भएको जिल्ला सचिव राजेश्वर ढकालले बताए ।

यस्तै बैठकले यस अघिको जिल्ला कमिटिका सचिवालय सदस्य रहने गरि हाललाई सचिवालय गठन गरेको छ भने सचिवालयको पुर्णता पनि आगामी बैठकमा गरिने भएको छ । त्यस्तै तत्कालको लागि निर्वाचन केन्द्रीत कार्यकर्ता परिचालनको लागि भिमाद र म्याग्देमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भानु र देवघाटमा उपाध्यक्ष हरिराज कंडेल, ऋषिङ र आवुँखैरेनीमा सचिव राजेश्वर ढकाल, व्यास र बन्दिपुरमा उपसचिव प्रदिपराज अधिकारी र शुक्लागन्डकी र घिरिङमा अर्का उपसचिव खिम कुमाललाई जिम्मेबारी तोक्ने निर्णय गरेको छ । आगामी बैठकमा स्थानीय तह र वडा इन्चार्जहरु बारे निर्णय हुने सचिव ढकालले बताए ।

यसैगरि बैठकले संगठन विभागको प्रमुखमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आर्थिक विभागको प्रमुखमा उपाध्यक्ष हरिराज कंडेल, पार्टी स्कुल विभागको प्रमुखमा सचिव राजेश्वर ढकाल, प्रचार विभागको प्रमुखमा उपसचिव प्रदिपराज अधिकारी र मोर्चा संगठन विभागको प्रमुखमा उपसचिव खिम कुमाललाई चयन गरेको र बाँकी विभागहरु आगामी बैठकमा गठन गरिने निर्णय समेत गरेको छ । बैठकले १०५ सदस्यिय जिल्ला सल्लाहाकार समिति पनि गठन गरेको छ । साथै फागुन महिना भित्र सम्पुर्ण जिल्ला कमिटिका सदस्यहरुले आफ्नो सम्पत्ती विवरण पार्टी जिल्ला कार्यालयमा बुझाई सक्ने निर्णय समेत गरेको सचिव ढकालले जानकारी दिए ।

जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्विसुब्बा गुरुङले अवको तिन वटै तहको निर्वाचनमा एमालेको बहुमत आउने दावी गरे । यो विचमा पार्टीको संगठन निकै मजबुद बनेको तथा एमाले प्रति आम सर्वसाधरणको ठुलो आकर्षण र भरोसा रहेको हुँदा निर्वाचनमा एमालेको बहुमत आउने गुरुङले दावी गरे ।

त्यसैकारण एमालेले जित्ने निर्वाचन गर्न सत्तारुढ गठबन्धनलाई गाह्रो भएको उनको भनाई छ । सरकार र सत्तारुढ दलहरुले निर्वाचन नगर्न विभिन्न बाहाना र षड्यन्त्रहरु गरेको भन्दै गुरुङले आईतबार प्रधानन्यायधिश राणालाई लगाईएको महाअभियोगको प्रस्ताव पनि निर्वाचन बिथोल्ने षड्यन्त्र मध्येकै एक भएको बताए । राष्ट्रिय स्वाधिनता, समृद्धी र लोकतन्त्रको सुदृढीकरणको लागि एमाले बलियो हुनु पर्ने गुरुङको भनाई थियो । एमाले बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने भन्दै गुरुङले सत्तारुढ गठबन्धनले राष्ट्रिय स्वाधिनतालाई बिदेशीको पाउमा सुम्पेको आरोप लगाए ।

अहिले एमालेमा एक जना मात्रै कमान्डर रहेको र ति कमान्डरको आदेश पालना गर्न पार्टीका सिपाहीहरु तम्तयार भएको गुरुङले बताए । बिगतको जस्तो कार्यक्रम गर्न गुटबन्दी, उम्मेदवार छान्न गुटबन्दी र बिजयी गराउन पनि गुटबन्दी यस पटकदेखी अन्त्य भएको हुँदा अवको निर्वाचनमा एमालेको बहुमत निश्चित भएको उनको भनाई थियो । विश्वभर संसदीय प्रणालीमा दुई पार्टी मात्र हुने तर्क गर्दै गुरुङले अवको केही वर्ष भित्र नेपालमा पनि दुई पार्टीको मात्र अस्तित्व हुने बताए । त्यसमध्ये एउटा धार एमालेले नेतृत्व गर्ने भन्दै उनले अर्काे धार काँग्रेस हुने र अहिले अस्तित्वमा रहेका माओवादी, नेकपा एस, जनता समाजबादी जस्ता दलहरु कि नासिने की एउटा पार्टीमा बिलय हुने गुरुङको तर्क थियो । एमाले नेपालको कम्युनिष्ट आन्दोलनको बाघ भएको भन्दै गुरुङले बाघ पाउँदा पाउँदै जनताले बाघको रुपधारी बिरालोहरुलाई नखोज्ने बताए । गुरुङले माओवादी र नेकपा एस पार्टीलाई विरालोसँग तुलना गरेका थिए ।

बैठकमा नेकपा एमालेकी सचिव एवं गन्डकी प्रदेश संयोजक पद्मा अर्यालले जनादेशलाई परमादेशबाट विस्थापित गर्न खोज्नेहरुले नै प्रधानन्यायधीशलाई महाअभियोग लगाएको बताईन् । प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कार्य आपत्तीजनक भएको भन्दै अर्यालले पार्टीको सचिवालय, स्थायी समिति र संसदीय दलको बैठक बसेर त्यसबारेमा आधिकारिक धारणा सार्वजानिक गरिने बताईन् । मुलुकलाई अस्तव्यस्त बनाउन, संकट निम्त्याउन र निर्वाचनको वातावरण विथोल्न महाअभियोग दर्ता गरिएको भन्दै उनले सत्तागठबन्धनको यस्तो घिनलाग्दो हर्कतलाई अवको निर्वाचन मार्फत जनताले जवाफ दिनु पर्ने बताईन् ।

वर्तमान परमादेशी गठबन्धनको नराम्रा कामहरुको भन्डाफोर गर्नु पर्ने भन्दै निर्वाचनको बेला जनताको घर÷घरमा पुग्दा वर्तमान सरकारको नराम्रा काम र केपी ओली नेतृत्वको सरकारले गरेको राम्रा कामहरुको प्रचार गर्नु पर्ने बताईन् । एमसिसि पास गर्ने छौं भनेर पत्र पठाउने र अध्यारा कोठामा बसेर एमसिसिको पक्षमा सहमती गर्नेहरुले सडकमा कार्यकर्तालाई पठाएर तमासा देखाएको अर्यालको भनाई थियो । स्थानीय चुनाव सार्ने षड्यन्त्र भईरहेको भन्दै उनले अव आवश्यकता परे सडकमा उत्रिएर निर्वाचनको पक्षमा दवाव सिर्जना गर्नु पर्ने बताईन् ।

पोलिट्व्युरो सदस्य एवं तनहूँ जिल्ला इन्चार्ज टुकराज सिग्देलले वर्तमान सरकार गठन भएपछि देशको अर्थतन्त्र ध्वस्त भएको, राष्ट्रिय गौरवका आयोजनाको काम पुर्णरुपमा प्रभावित भएको तथा लोकतन्त्र र राष्ट्रिय स्वाधिनता संकटमा परेको बताए । अव कार्यकर्ताहरुले गाउँ गाउँमा गएर पार्टीको संगठनलाई मजबुद बनाउने र निर्वाचनको पक्षमा वातावरण बनाउनु पर्ने सिग्देलको भनाई थियो । सो बैठकमा गन्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा, निवर्तमान जिल्ला अध्यक्ष केदार सिग्देलले पनि शुभकामना दिएका थिए ।

बैठकमा पोलिट्व्युरो सदस्य जगत विश्वकर्मा, मायानाथ अधिकारी, केन्द्रीय सदस्य मनकुमारी केसी, भगवती न्यौपाने, सविता रसाईली, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, गन्डकी प्रदेश कमिटिका उपाध्यक्ष मोहन रेग्मी, प्रदेश कमिटिका सदस्यहरु नारयण खनाल, रामचन्द्र उपाध्याय, धर्म खनाल, होमबहादुर थापा, रामबहादुर गुरुङ, देवु विष्ट लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको