१० जेष्ठ २०७९, मंगलवार

व्यासको मेयरमा उम्मेदबारी घोषणा गरेका जोशीको सम्पर्क कार्यालय स्थापना

दमौली, चैत २३

व्यास नगरपालिकाको मेयरमा उम्मेदबारी घोषणा गरेका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीका छोरा दिपकराज जोशीको निर्वाचन सम्पर्क कार्यालयको स्थापना गरिएको छ । व्यास नपा २ बालमन्दिर लाईनमा स्थापना गरिएको सो कार्यालयको विहिबार संविधान सभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्णप्रसाद पोख्रेलले रिबन काटेर उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै जोशीले आफु पेशाले इन्जिनियर भएको हुँदा व्यास नगरपालिकाको फोहोर सफा गर्न र नगरवासीको सेवा गर्न उम्मेदवारी दिन लागेको बताए । जोशीले व्यास नगरपालिकामा हाल ३५ करोड रुपैयाँ घाटमा चलेको तथ्यांक प्रस्तुत गर्दै अव जित्ने मेयरले काम गर्ने भन्दा पनि घाटा तिर्नेमा मात्रै उसको ध्यान जाने बताए । भोट दिँदा कुनै नेतालाई नभई व्यासको वास्तविक मेयर हुने मान्छेलाई दिनु पर्ने उनको भनाई थियो । ‘जुन पार्टीको राम्रो मान्छे हुन्छ, उसैलाई भोट दिनु पर्छ, पार्टी भन्दा व्यक्ति हेर्नु पर्छ ।’ उनको भनाई थियो ।

जनताको कुलो बनाउने ३ लाख दिन नसक्ने नगरपालिकाले बिसौं लाख रुपैयाँ खर्च गरेर म्याराथन प्रतियोगिता आयोजना गरेको जोशीको भनाई थियो । जनताले नै प्रश्न उठाउन नसक्ने भएको कारण नगरपालिकामा मनोमानी भईरहेको उनले बताए । एउटा राम्रो दमकल पनि छैन । भएको दमकलको पनि राम्रो परिचालन गर्न सकिएको छैन भन्दै उनले एक पटक आफुलाई भोट दिनुस् व्यासको फोहोर सफा गर्ने बताए ।

व्यासमा बेथिती निकै बढेको भन्दै जोशीले ६५ लाख खर्चेर जनप्रतिनिधिको लागि गाडी खरिद गरिएको तर एम्बुलेन्समा १० लाख खर्च गर्न डराउँने गरेको बताए । अव यस्तो प्रबृत्तिको अन्त्य हुनु पर्ने भन्दै उनले त्यसैको लागि आफु चुनाबी मैदानमा उत्रिएको बताए ।

जनप्रतिनिधि र कर्मचारीको भत्तामा मात्रै एक आर्थिक वर्षमा ४ करोड रुपैयाँको खर्च भईरहेको भन्दै उनले आफु मेयरमा निर्वाचित भए त्यस्ता बेथितीको अन्त्य गर्ने बताए । जोशीले विहिबार नेपाली काँग्रेसको कार्यालयमा गई मेयर पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु सुकुमलाल गुरुङ र हरिशरण पण्डितले यस पटक व्यास नगरपालिकाको निर्वाचनमा जोशीलाई जिताउनु पर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको