१० जेष्ठ २०७९, मंगलवार

आक्रामक चुनावी अभियानमा पाण्डे

पाण्डे भन्छन् ‘भानु नगरको विकास गरि यस माटोको भारा तिर्ने मन छ’

भानु, चैत २८

नेकपा एमालेबाट भानु नगरपालिकाको मेयरको उम्मेदबारी घोषणा गरेका हरिबहादुर पाण्डे चुनावी अभियानको क्रममा गाउँ गाउँमा पुगेका छन् । केही दिन अघि नगर कमिटिको बैठकमा मेयरमा उम्मेदबारी घोषणा गरेका पाण्डे त्यस अघि र त्यसपछि पनि निरन्तर रुपमा भानुका विभिन्न वडामा सक्रिय बनेका छन् । नगर कमिटिको बैठकले सर्वसम्मत रुपमा उम्मेदबारको नाम छनौट गर्न नसकेपछि ६ जनाको नाम जिल्ला कमिटिमा पठाएको छ । मेयरमा पाण्डे सहित सिताराम बजगाई, शुनिल पाण्डे, शंकर रानाभाट, कलाकुमारी ढकाल, कृष्णराज ढकाल र श्याम थापाको नाम नगर कमिटिले जिल्ला कमिटिमा पठाएको छ ।

नगर कमिटिमा सर्वसम्मत नभएपनि जिल्ला कमिटि र प्रदेश कमिटिले आफुलाई नै उम्मेदबार चयन गर्नेमा विश्वस्त रहेको पाण्डेले बताए । चुनावी अभियानको क्रममा गाउँमा पुगेका पाण्डेले अन्य पार्टीबाट एमाले प्रवेश गराउने काममा पनि सक्रिय भएका छन् । पाण्डेको सक्रियताले पछिल्लो समय भानुका विभिन्न वडामा एमालेको गतिविधि ह्वात्तै बढेको छ । अभियानको क्रममा पाण्डेले पार्टीको वार्ड कमिटिलाई चुनावी अभियान सन्चालनको लागि साउन्ड सिस्टम, झण्डा, टोपी, टिर्सट, कुर्सी र युवाहरुलाई खेल सामाग्री पनि वितरण गरिरहेका छन् ।

हालको भानु नपा–१० चोकचिसापानीमा २०२१ साल पुसमा जन्मिएका पाण्डेले २०३६ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि विद्यार्थी आन्दोलनमा सक्रिय बनेका थिए । पछि रोजगारको शिलशिलामा सन १९८३ मा भारतीय सेनामा भर्ना भएका उनी १७ वर्षमा अवकास लिएर आएका थिए । भारतीय सेनामै हुँदा पनि नेपालमा भएका विभिन्न चुनावमा पार्टीलाई सहयोग गर्न आएको पाण्डेले बताए । यसैक्रममा २०५६ सालको आम निर्वाचनमा चोकचिसापानीमा काँग्रेस कार्यकर्ताहरुले पाण्डे र उनका भाईमाथी आक्रमण गरेका थिए । चार महिनाको छुट्टिमा नेपाल आएकोमा काँग्रेस कार्यकर्ताहरुले झुटा मुद्धा लगाएर फसाउने षड्यन्त्र गरेको थाह पाएपछि बिचमै दिल्ली गएर त्यहाँ २ महिना बसेर छुट्टि सकाएर काममा फर्केको उनले बताए । पछि अवकासमा आएपछि पार्टीको काममा निरन्तर लागेको पाण्डेले बताए ।

भारतीय सेनाबाट अवकास आएपछि पाण्डेले काठमाडौंमा मेनपावर अफिस सन्चालन गरे । यसैक्रममा उनी नेकपा एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मन्चको अध्यक्ष समेत भए भने साझा संस्थाको रुपमा रहेको बैदेशिक रोजगार व्यवसायी संघको बरिष्ठ उपाध्यक्ष समेत भए । पार्टीको कामको शिलशिलामा उनी नेकपा एमाले तनहँु–काठमाडौं सम्पर्क मन्चको अध्यक्ष र पार्टीको गन्डकी–काठमाडौं सम्पर्क मन्चको सदस्य समेत भए । पाण्डे केही महिना अघि नेकपा एमालेको गन्डकी प्रदेश कमिटिका सदस्य मनोनित भएका थिए । तर जिल्लामै पार्टीको काम गर्ने भन्दै उनले प्रदेश कमिटिबाट राजिनामा दिई जिल्ला कमिटि सदस्यमा उम्मेदबारी दिएर निर्वाचित भएका थिए ।

काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा रहे पनि आफ्नो मुख्य राजनीतिक थलो भानु नगरपालिका नै भएको पाण्डेले बताए । भानुको माटोमा जन्मिएर महत्वपुर्ण पदहरुमा आफ्नो स्थान बनाईसकेपनि अव स्थानीय तहको नेतृत्व गरेर आफ्नो भुमीको विकास गर्ने उत्कट चाहाना भएको कारण स्थानीय तहको निर्वाचनमा मेयर पदको दावेदारी गरेको पाण्डेले बताए । एक पटक जनप्रतिनिधि भएर नगरको विकास गरेर जन्मभुमीको माटोको भारा तिर्ने मन भएको पाण्डेले बताए ।

काठमाडौंमा विभिन्न संस्था र पदमा रहेर काम गरेपनि निरन्तर भानुको विकासमा आफुले योगदान दिँदै आएको पाण्डेले बताए । २०७४ सालको निर्वाचनमा एमाले झिनो मतले मेयर र उपमेयरमा पराजित भएपनि यस पटक आफुले टिकट पाए उक्त परिणाम उल्ट्याउने र नगरपालिकामा एमालेको झण्डा गाड्ने पाण्डेले दावी गरे । निर्वाचन तयारीकै क्रममा पाण्डे केही महिना यता भानु नगरपालिकाको विभिन्न वडामा विभिन्न कार्यक्रम मार्फत लागि रहेका छन् । १३ वटै वडाका युवा क्लव, आमा समुह तथा विद्यालयहरुमा विभिन्न सहयोग सामाग्री उपलब्ध गराईरहेको पाण्डेले बताए । युवा क्लवलाई खेलकुँद सामाग्री, खेलकँुद पोशाक, आमा समुहलाई कुर्सी, साउन्ड सिस्टम, तथा सामुदायीक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर लगायतका सामाग्री सहयोग गर्दै आएको पाण्डेले बताए ।

पार्टी भित्र अन्य नेताहरु झैं उम्मेदबारीको स्वभाविक दावी गरेको भन्दै अन्य नेताहरुले यसमा आपत्ती जनाउनु नपर्ने पाण्डेको भनाई छ । उम्मेदबारको धेरै जना आकांक्षी रहेको र सबैले आफ्नो तर्फबाट दावेदारी प्रस्तुत गर्नु स्वभाविक रहेको उनको भनाई छ । सबै जनाले आफुले चुनाव जित्ने भन्दै दावेदारी प्रस्तुत गर्नुलाई स्वभाविक रुपमा लिने भन्दै जसले टिकट पाएपनि पार्टीको उम्मेदबारको रुपमा सबैले सहयोग गर्नु पर्ने पाण्डेको भनाई छ । उम्मेदबारको अन्य आकांक्षीहरुसँग पनि छलफल भएको भन्दै पाण्डेले सबै नेताहरु सौहार्दरुपमा चुनाव प्रचारमा लाग्नु पर्ने पाण्डेले बताए । ‘मैले टिकट पाएपनि सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु’ पाण्डेले भने ‘अन्य साथीहरुले टिकट पाएपनि मैले पुर्णरुपमा सहयोग गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको