१० जेष्ठ २०७९, मंगलवार

व्यासमा काँग्रेसबाट न्यौपाने बलियो उम्मेदबार

दमौली, चैत २८

स्थानीय निर्वाचन नजिकिँदै गर्दा तनहूँको सदरमुकाम रहेको व्यास नगरपालिकाको मेयर को बन्छ भन्ने चर्चा बढेको छ । नेपाली काँग्रेसको किल्लाको रुपमा लिईने व्यास नगरपालिकामा नेपाली काँग्रेसले छान्ने उम्मेदबार नै भावी मेयरको रुपमा हेरिन्छ । त्यही कारण पनि नेपाली काँग्रेस भित्र उम्मेदबारी छनौटमा नै निकै प्रतिश्पर्धा हुने गरेको छ ।

२०७४ सालको निर्वाचनमा निकै प्रतिश्पर्धाका विच काँग्रेसले तत्कालिन जिल्ला सभापती बैकुण्ठ न्यौपानेलाई मेयरको उम्मेदबार बनाएका थिए । न्यौपानेले एमालेका तत्कालिन उम्मेदबार शंकरनारयण श्रेष्ठलाई फराकिलो मत अन्तरले पराजित गरेका थिए । यस पटक पनि न्यौपाने एक पटक मेयर दोहो¥याउने सुरमा छन् । संविधानले स्थानीय तहको प्रमुखमा दुई पटकसम्म निर्वाचित हुने अधिकार दिएको छ ।
हुनत नेपाली काँग्रेसबाट मेयर पदमा न्यौपाने सहित १५ जना आकांक्षी रहेका छन् । १५ जनाले मेयर पदको लागि पार्टीमा नाम दर्ता गराएका छन् । काँग्रेस भित्र मेयर र उपमेयरको टिकट प्रदेश कमिटिले दिने हुँदा अव सबैको ध्यान प्रदेश सभापती शुक्रराज शर्मा तिर सोझिएको छ ।

१५ जना आकांक्षी मध्ये सबैभन्दा बलियो उम्मेदबार न्यौपानेलाई नै हेरिएको छ । व्यास नगरपालिकाको मेयरमा काँग्रेसबाट न्यौपाने सहित रघुनाथ पौडेल, शान्तीमरण वाग्ले, देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, वृषराज श्रेष्ठ, अशोककुमार श्रेष्ठ, विश्व बास्तोला, डम्बर अधिकारी, डा.शेषमरण न्यौपाने, हरिदत्त पौडेल, दिपकराज जोशी, लक्ष्मीभक्त खनाल, विद्या खनाल र शंकर पौडेलले पार्टीमा नाम दर्ता गराएका छन् ।

आफ्ना केही महात्वाकांक्षी योजनाहरु पुरा गर्न नसकिएको भन्दै न्यौपानेले एक पटक आफुलाई मौका दिन पार्टी पंक्तिलाई अनुरोध गरेका छन् । दमौलीमा ५० शैयाको अस्पताल, दुम्सीमा कोभिड अस्पताल, खेल मैदान निर्माण, कोल्ड स्टोर निर्माण, दमौलीमा पार्क निर्माण लगायतका कामहरु पुरा गर्न अझै बाँकी रहेको न्यौपानेको भनाई छ । आफ्नो कार्यकालको नगरवासीले समिक्षा गर्नु पर्ने भन्दै न्यौपानेले एक पटक मौका पाए विगतको भन्दा राम्रो काम गर्ने बताएका छन् ।

पार्टी भित्रको आन्तरिक प्रतिश्पर्धामा आफुलाई कमजोर बनाईएपनि स्थानीय निर्वाचनमा आफु नै व्यास नपाको मेयरको बलियो उम्मेदबार भएको बताए । पार्टी भित्र जसले टिकट पाएपनि आन्तरिक एकतालाई बलियो बनाएर चुनावमा जानुको विकल्प नभएको उनले बताए ।
न्यौपाने उम्मेदबार बन्दा अन्य आकांक्षीहरुलाई व्यवस्थापन गर्न सहज हुने अनुमान पनि नेतृत्वले गरेको बुझिएको छ । न्यौपाने पार्टीका नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । व्यास नगरपालिकाको मेयरमा पौडेलले नै इच्छाएको व्यक्तिले टिकट पाउने भएको कारण पनि न्यौपानेको सम्भावना भएको मानिएको छ । मेयरको टिकट दिने प्रदेश सभापती शुक्रराज शर्मा पनि पौडेल निकटकै नेता भएको कारण पनि न्यौपानेको सम्भावना बढेको छ ।

नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा सबै केन्द्रीय सदस्यहरु एकातिर उभिएर न्यौपानेलाई सभापतीमा पराजित गरेका थिए । तर व्यास नगरपालिकाको आन्तरिक राजनीतिमा न्यौपाने अझ पनि बलियो नै रहेका छन् । नेपाली काँग्रेसका नगर सभापती सहित बुहमत वडा सभापतीहरु न्यौपाने नै एक पटक पुनः मेयर बन्नु पर्ने पक्षमा रहेको दावी काँग्रेसका एक नेताले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको