१० जेष्ठ २०७९, मंगलवार

मेयरका उम्मेदवार तिम्सिना लक्षित समाचार प्रति एमाले तनहुँको ध्यानाकर्षण

दमौली, बैशाख २६

तनहूँबाट प्रकाशित हुने केही सन्चारमाध्यममा नेकपा एमालेबाट शुक्लागण्डकी नगरपालिकामा मेयर पदका उम्मेदवार मुक्तिनाथ तिम्सिनालाई लक्षित गर्दै निर्वाचन आचारसंहिता विपरित प्रकाशित समाचार प्रति एमाले तनहुँले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले तनहूँले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरि मेयरका उम्मेदबार तिम्सिनाबारे निर्वाचन आचार संहिता विपरित कपोल्कपित र भ्रामक समाचार प्रकाशन गरि उम्मेदबारको बदनाम गर्ने उद्देश्यले गरिएको षड्यन्त्र प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचारको भत्र्सना गरिएको जनाएको छ ।

एमाले तनहूँका सचिव राजेश्वर ढकालद्वारा जारी विज्ञप्तीमा शुक्लागण्डकी नगरपालिकामा करिव ७ हजार अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुम्बासीहरु सदियौंदेखी बसोबास गर्दै आईरहेको सबैलाई जानकारी भएको जनाईएको छ । उनीहरुलाई लक्षित गर्दै केहि ठालु नवधनाढ्यबाट बारम्बार प्रभावित बनाई जग्गाधनी पुर्जा प्राप्त गर्ने अधिकार कुण्ठित गरी बसोबास गरेका जनतामाथि राज्यतवरबाट कुठाराघात गर्दै आएको विज्ञप्तिमा जनाईएको छ । यस्ता मतियारहरु सक्रिय भई जग्गाधनी पुर्जा प्राप्त गर्ने हक खोस्न खोजेको पनि विज्ञप्तिमा जनाईएको छ ।

मालपोत ऐन २०३४ र भुमि सम्बन्धी ऐन २०२१ को बर्खिलाप हुने गरि एमालेको उम्मेदबारहरुले कुनै कसुर नगरेको एमालेले दावी गरेको छ । स्थानीय चुनावमा एमालेका उम्मेदबारलाई कमजोर बनाउने उद्देश्यबाट प्रेरित भई फिजाईएको हल्लाको पछि नलाग्न एमालेले आम मतदातालाई आह्वान गरेको छ । गलत मनसायबाट समाचार प्रकाशिन गर्ने सन्चार माध्यमको विरुद्धमा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी दिने एमाले तनहँुका सचिव राजेश्वर ढकालले बताए ।

एमालेका मेयरका उम्मेदबार तिम्सिनाले पनि आफुले सार्वजानिक जग्गा कब्जा गरेको भन्ने आरोपलाई अस्विकार गरेका छन् । उनले उक्त जग्गाको बर्षौदेखी आफुले कर तिर्दै आईरहेको र अव भुमि सम्बन्धि आयोगबाट आफुले जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रक्रियामा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको