१० जेष्ठ २०७९, मंगलवार

गठबन्धनका उम्मेदबारलाई जिताउन काँग्रेस नेता जोशीको अनुरोध

भानु, बैशाख २६

नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले भानु नगरपालिकामा नेकपा एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराउन मतदाताहरुलाई अनुरोध गरेका छन् । भानु नपा २ नारेश्वरटारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जोशीले भानु नगरपालिकाको विकास र समृद्धीको लागि एमाले नेतृत्वको गठबन्धनका उम्मेदबारहरुलाई बिजयी गराउनु पर्ने बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै नेता जोशीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदबारहरुलाई बिजयी गराई भानु नगरपालिकाको समृद्धीको सपना पुरा गर्नु पर्ने बताए । भानु नगरपालिमा एमाले र जोशी समुहको चुनावी तालमेल रहेको छ । मेयरमा एमालेका सिताराम बजगाई र उपमेयरमा जोशी समुहका केशरबहादुर गुरुङ उम्मेदबार रहेको छ । वडा अध्यक्षहरुमा वडा नम्बर ११ र १३ मा जोशी समुहको र अन्य वडामा एमालेका उम्मेदबारहरु रहेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै जोशीले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त बेचेर खाईसकेको र सत्ताको लागि जो सँग पनि मिल्ने र जता पनि जाने भएको हुँदा अव काँग्रेसका कार्यकर्ताहरुले गम्भिर भएर सोच्नु पर्ने बताए । भानु नगरपालिकामा यस अघि काँग्रेसका उम्मेदबारहरुलाई जिताउन आफु दिनरात लागेको भन्दै जोशीले तर निर्वाचित भईसकेपछि उनीहरुले नगरको विकासको लागि केही काम गर्न नसकेको आरोप लगाए ।

सो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराई भानु नगरपालिकाको विकास र समृद्धीको नेतृत्व गर्नु पर्ने बताईन् ।न्यौपानेले भानु क्षेत्रको विकासको लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताईन् ।

सो कार्यक्रममा मेयरका उम्मेदबार सिताराम बजगाईले आफुहरु निर्वाचित भए भानु नगरपालिकालाई भ्रष्टाचार र कुशासनबाट मुक्त बनाउने प्रतिबद्धता जनाएका थिए । विगतका जनप्रतिनिधिले पाँच वर्षसम्म सुतेर बसेको हुँदा भानु नगरपालिका विकास र शुसासनमा निकै पछाडी परेको भन्दै बजगाईले अव भानुलाई नमुना नगरपालिका बनाउने आफ्नो प्रतिबद्धता रहेको बताए ।

सो कार्यक्रममा उपमेयरका उम्मेदबार केशरबहादुर गुरुङ, नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, गन्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङ, जिल्ला कमिटि सदस्यहरु शंकर रानाभाट, हरिबहादुर पाण्डे, नेपाली काँग्रेसकी नेतृ बालकुमारी लोहनी, भानु नपा २ का वडा अध्यक्षका उम्मेदबार केशव त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको