१० जेष्ठ २०७९, मंगलवार

‘भोट घटाउन झुटा मुद्धाको साहारा लिईयो’

दुलेगौंडा, बैशाख २८

स्थानीय निर्वाचनको माहौल मंगलबार साँझसम्म निकै बढेको थियो । बुधबार विहान १२ बजेपछि मौन अवधि सुरु हुने भएकोले मौन अवधि सुरु हुनेबेला सम्म निर्वाचनको प्रचार प्रसार कार्यले निकै तिब्रता पाएको थियो । तर मौन अवधि सुरु भए पछि भने बाध्यताबश सबै उम्मेदबारको प्रचारको काम ठप्प भएको छ ।

राजनीतिक दलका नेता तथा उम्मेदबारहरुले आफ्नो प्रचारसँगै विपक्षी दलका उम्मेदबारलाई कमजोर पार्न विभिन्न हत्कन्डाहरु प्रयोग समेत गरेका छन् । मौन अवधि सुरु हुनु अघिसम्म विभिन्न प्रचारात्मक शैलीले केही उम्मेदबार तथा राजनीतिक दलहरु चर्चामा आए भने केहीले हैरानी समेत बेहोर्नु परेको छ ।

प्रतिष्पर्धी उम्मेदबारलाई कमजोर बनाउन आरोप प्रत्यारोप तथा विभिन्न प्रोपोगन्डाहरु समेत गरिएको गुनासो आएको छ । यसैक्रममा शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदबारी दिएका मुक्तिनाथ तिम्सिनाले पनि यस्तै हैरानी बेहोर्नु परेको थियो ।

शुक्लागण्डकी नगरपालिका–७ मा रहेको झरौटा खोला मिचेर सार्वजानिक जग्गामा घर बनाएको भन्दै विपक्षी उम्मेदबारले गरेको प्रचारले तिम्सिनाले हैरानी बेहोर्नु प¥यो । विभिन्न सन्चारमाध्यममा यस बारेमा समाचार प्रकाशित भएपछि आफु निकै तनाबमा परेको तिम्सिनाले बताए । आफुले खोला तथा सार्वजानिक जग्गा मिचेर घर निर्माण नगरेपनि विपक्षीको झुटो आरोपले आफुलाई हैरानी र तनाव भएको तिम्सिनाले बताए ।

तिम्सिनाले सार्वजानिक जग्गामा खोला समेत मिचेर घर निर्माण गरेको भन्ने आरोप लागेपछि यसबारेमा लोकवाणीले स्थलगत रिर्पोटिङ समेत गरेको छ । लोकवाणीसँग कुरा गर्दै जग्गा विक्रेता चन्द्रकुमार श्रेष्ठले नक्सा अनुसार झरौटामा स्थानीयबासीले घर बनाएको बताए । ६५ बर्षीय श्रेष्ठले आफु विगत ५५ बर्षदेखी झरौटामा बस्दै आएको बताए । उनले पनि ४० बर्ष अगाडी झरौटाको उक्त जग्गा किनेको बताए । उनले उक्त जग्गा साविकको दुलेगौँडा गाविस हुदाँको बखत दुर्गा पराजुलीलाई विक्री गरेको जानकारी दिए ।

दुर्गा पराजुलीसँग उक्त जग्गा आफुले खरिद गरेर तीनबर्ष अगाडी घर बनाएको मेयरका उम्मेदबार तिम्सिनाले बताए । त्यस अगावै झरौटा खोला क्षेत्रमा घर बनिसकेको श्रेष्ठ बताउँछन् । चुनावी प्रचारको क्रममा तिम्सिनालाई कमजोर बनाउन र उनको बदनाम गर्न विपक्षीले घरको विषयलाई प्रचारमा ल्याएको हुनसक्ने श्रेष्ठले बताए । ‘नक्साभित्र घर बनाईएको छ, खोलामिचिएको प्रमाण देखिदैन्, नक्साभित्रै बनाएको देखिन्छ ।’ उनले भने ‘बरु खोलाको पारीपट्टीको भागपहिरो झरेर फराकिलो भएको छ ।’ चुनावको बेलामा यस्ता आरोपहरु आईरहने भन्दै श्रेष्ठले विपक्षी पार्टीहरुले पनि सत्य कुरालाई बोक्न नसकेर झुटा मुद्धाको साहारा लिनु परेको बताए ।

वि।स। २०३१ सालदेखी झरौटामा नै बस्दै आएकी स्थानीय पुर्णकला पंगेनीले पनि खोला मिचेको नभई खोलाले जग्गा झारेको बताउँछिन् । उनि भन्छिन् ‘पहिले खोला सानो थियो, पछि खोलाले झारेको जग्गा हो ।’ उनले भनिन् ‘खोलाले झारेको जग्गाबाट निकालेर घर बनाएका हुन्, कसैले खोला मिचेका छैनन् ।’

खोला मिचेको भन्ने आरोप चुनाबकै बेलामात्र आएको भन्दै उनले यस्तो विषयमा अफवाह फैलाएर भोटको राजनीति गर्न खोजेको उनको भनाई छ । ‘यो वडामा सबैको यस्तै समस्या हो, यहाँ भन्दा तलपट्टि सबैको खेत छ, खेत रोप्या छन्, सक्नेले खोलाबाट उठाएर घर बनाउने, खेत रोप्ने ग¥या छन् । नसक्नेको त्यतिकै खोला हिँडेको छ ।’ उनले भनिन्, ‘मुक्तिले खोला मिचेका हैनन्, सबैको समस्या यही हो ।’ जग्गा मिचेको नभई खोलाले झारेको जग्गा निकालेर घर बनाएको उनले बताईन् ।

झरौटका ६३ बर्षीय रामकुमार श्रेष्ठले आफुहरु अव्यवस्थित बसोबासी रहेको बताए । ‘झरौटाको शिवमन्दिर देखी लिएर दोभानसम्म सबै अव्यस्थित बसोबासी छन्’ उनले भने । राजनीतिक प्रतिशोधका कारण झरौटा वासीलाई खोलामिचेको आरोप लगाईएको उनको भनाई छ । ‘आफ्नो कित्ताकाट भित्रै घर बनाएका छौं’ उनको भनाई छ । सरकारमा हुदाँ पुर्जा नदिने र चुनावको बेला राजनीतिक मुद्धा बनाउदै जनतालाई भ्रम फैलाउने गरेको श्रेष्ठको आरोप छ ।’

शुक्लागण्डकी नगरपालिका–७ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या अन्य ठाउँ भन्दा धेरै छ । लालपुर्जा प्राप्तीका लागि ९ सय ५० बढी घरपरिवार पखाईमा छन् । आठौँ पटकसम्म जग्गाको पुर्जा दिने प्रयास भएपनि सरकार सफल भएको छैन ।
स्याउली बजारका टिकाराम शर्माले वडा भर पैसा तिरेर जग्गा किनेका तर लालपुर्जा साथमा नभएकको संख्या धेरै भएको बताए । उनले चुनावको बेला सुकुम्बासीको पुर्जा पाउने सपनामा प्रहार भईरहेको बताए । मुखियासँग तिरो तिरेर किनेको जग्गा किनबेच भईरहेको उनी बताउँछन् । मुखियालाई तिरो तिरेको रसिद आफुहरुसँग भएको बताए । ‘वडाभर मुखियाले बेचेको जग्गा हो । कहिँकतै स्कुलले बेचेको थियो’ उनले भने । वडामा जग्गा ओगटेर बसेका सुकुम्बासी कोहीपनि नभएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको